भोकाएको गोजी !

     

 {न खान्छ भात यो न त खान्छ रोटी
   पैशा बिना सधै भोकै छ गोजी   }

 


-हृदय खड्का  /  निराजन खड्का

हजारौँ चाहाना र लाखौँ सपना बोकेर काठमाडौँ शहरमा छिरियो । शिक्षणको शिलसिलामा आफ्ना लाखौँ र परिवारका हजारौँ सपना  पुरा गर्न भनि आइपुगेको काठमाण्डौँ शहरमा कहिले के ले सतायो  त कहिले के ले, गाउँघरको सफा सुन्दर र मग्नमुग्ध वातावरणमा रमाउने अनि आफ्ना साथीहरुसंग दिनभर अनेक किसिमका मिठामिठा बातहरु गरेर दिन बिताउने बानी परेको म बिरानो सपनाको सहर मलाई ग्रहणले छोपेको सुर्य जस्तै लाग्यो । हावा पानी र खानपिनमा समेत परिवर्तन हुँदा सुरु सुरुमा मलाई घुलमिल हुन निकै नै गाह्रो  प¥यो । सपनाको सहर काठमाडौंको बारेमा म अपरिचित थिए । खुल्ला घरहरुको बस्तिमा हुर्केको म काठमाडौंको घना र बाक्लो बस्तिहरु बारे मलाई केहि थाहा थिएन । सुरुमा कहाँ र कता जाने छुट्याउन नै धौ धौ परेको थियो । सपनाको सहरबारे अन्जान भएकाले म अध्यारोमा हिडेको यात्रू झै कहिले यता भौतारिए त कहिले उता । विस्तारै म मरुभुमि तुल्य यस शहरमा घुलमिल हुदै गए र साथिहरुको खोजि गर्न थाले जो मेरा साना साना खुसीमा रमाउन सकुन् अनि जीवनमा संघर्ष गरी केहि बन्न प्रेणा दिन सकुन । विस्तारै विस्तारै बाटो गल्लि अनि कलेजमा साथिहरु बन्न थाले । कोहि साथीहरु हराएर गए कोहि याद बनेर बसेका छन् त कोहि साथीहरु साथ दिएर असल मित्रको परिचय  दिइरहेका छन् । सपनाको शहरमा दिनहुँ बिभिन्न समस्याले सताईरहेको हुन्छ । कहिले आफ्नो बाल्याकालको यादले सताउछ त कहिले गाउँघर अनि साथिहरुको यादले । सायद छैठीको रात भाविले मेरो निधारमा यस्तै हुन लेखेको थियो होला । साथी र गाउँघरको यादले दिने पिडा त सहने बानि परिसकेको छ । यि यादहरु भन्दा ठुलो कुरा के भने नि मलाई मेरो भोकाएको गोजीले सताई रहेको छ ।


पारिवारिक वातावरणबाट टाढिएर वियोगको पिडा भोगि आफ्ना लाखौँ सपनाहरु साकार गर्न भनि सपनाको शहरमा भित्रिएको मलाई मेरो भोकाएको गोजीले हरेक चोटि यातना दिइरहेको छ । ऊ मलाई सोध्ने गर्छ ूए तँ मलाई कहिले टम्म हने गरी खान दिन्छस् ?” म संग मेरो भोकाएको गाजीलाई टम्म हुनेगरि खान दिने कुनै आय सा्रेत छैन् । मात्र छ त घरबाट छोरालाई भनि पठाइदिएको सानो रकम जसले मेरो गोजीलाई केहि समय सम्म मात्र राहत दिन सक्छ । घरबाट दिएको रकम बिभिन्न ठाउँमा खर्च हुन्छ केहि रकम कोठा भाडामा खर्च हुन्छ त केहि रकम कलेजको फि मा । त्यहि माथि काठमाडौंको बढ्दो  महंगिले झन मेरो भोकाएको गोजीको अँश खोसेर खाइदिएको छ । यस कारण मेरो भेकाएको गोजी पानि र प्रकाशको अनुपस्थितिमा हुर्केको बिरुवा झै रुखो र सुक्खो छ ।मेरो भोकाएको गोजी मलाई भोकको पिडाले नानाथरिका गालि र प्रश्नहरु गर्न थाल्छ तर म संग भने यसको कुनै जवाफ छैन । 


मेरो भोकाएको गोजी सडकको गल्लि अनि गाडीहरुको भिडमा अरुहरुको गोजी तिर आँखा तरी तरी हेर्छ अनि अरुहरुका गोजीहरु खानेकुराले पेटै फुुट्ने गरि टम्म भरिएको देख्छ र मलाई फेरी प्रश्न गर्न थाल्छ । मलाई यसरी नै टम्म हुने गरी कहिले खानेकुरा दिन्छस् भनेर । यता मलाई भने मेरो सपनाको विरानो सहरमा कहिले यता बाट त कहिले उता बाट  विभिन्न समस्याले सियोले झै गरी नराम्रो संग घोचिरहेको छ । मेरो रित्तो र भोको गोजीका कारणले गर्दा मैले विभिन्न किसिमका डरलाग्दा परीस्थितिको सामना गरीरहनु परेको छ साथै अनेक समस्याहरुले घेरी आफ्नो जन्जिरमा कसाईरहेको छ । तापनि मलाई मेरो भोकाएको गोजीले प्रश्न गर्न कत्तिपनि छोडेको छैन ।

 

मेरो मनमा कहिले काहि अनेकौ भावहरुले पौडी खेलिरहेको हुन्छ । यदि म पनि सम्पन्न वर्गको परिवारमा जन्मिएको भए , म पनि विकसित राष्ट्रमा जन्मिएको भए मेरो गोजी पनि टम्म भरिएको हुन्थ्यो मेरो गोजीले मलाई सधै प्रश्न गरिरहनु पर्ने थिएन र मैले पनि प्रश्नको जवाफ खोजिरहनु पर्ने थिएन । मेरो भोकाएको गोजी पनि अरुको गोजी झै टम्म र मोटाएको देखिन्थ्यो अनि  हर्षले रमाईरहेको हुन्थ्यो होला । सायद यो मेरो हृदयमा उब्जने एउटा भ्रम मात्र हो । हुन त भगवानले मलाई जे खुसि दिएको छ ऊ अरुलाई पनि त दिन सकेको छैन म संग जति खुवि अनि सम्पति छ ऊ अरुसंग पनि त छैन , मलाई आफु र आफ्नो जीवन भन्दा बढी माया गर्ने आमा वुबा , दाजुभाई र मेरा हितका निम्ति सधै प्रथना गर्ने साथीभाई र नातेदार दिएको छ तर सबै सबैको भाग्यमा यो पनि त छैन होला  । यि सब कुराहरु मैले त वुझ्न सक्छु  भोकको पिडाले मृत्युको मुखमा पुग्न नैे आँटेको मेरो भोकाएको गोजीले कहाँ बुझ्न सक्छ र , मेरो भोकाएको गोजीले कहिलेकाहि यताउति बाट खानेकुरा त पाउछ जुन उसका लागि मरुभुमिमा प्यासले भौतारिएको उँठले सानो पानिको डोप्को पाए बराबर मात्र हुन्छ ।

 

आफ्ना र परिवारका अनगिन्ति सपनाहरु साकार गर्न भनि घर छोडी हिडेकोे मैले मेरो भोकाएको गोजीलाई टम्म हुने गरी अघाउन नसक्नुमा मेरो मात्र कमजोरी नभई समग्र राष्ट्रको नै कमजोरी रहेको छ । देशमा प्रशस्त मात्रामा रोजगारीको अवसर सिर्जना हुन नसक्नु , देशले तिव्र गतिमा विकासको गति लिन नसक्नु  देशमा आफै भित्र विवाद स्थापना  हुनु , दक्ष जनशक्तिले विदेश पलायन हुनु पर्ने बाध्याता जस्ता समस्याहरु छन । समाजको परिवर्तन संग संगै बढ्दै गएका मेरा आवश्यकताहरुले पनि मेरो भोकाएको गोजीको खानाको अँश खोसेर खाइदिएको छ । जुन हरेक नेपालिका भोकाएका गोजीहरुलाई टम्म हुने गरि अघाउनमा बाधाक बनिरहेको छ । । जब सम्म देशले दिगो विकासको गति लिन सक्दैन तब सम्म मेरो भोको गोजीले पनि आशाको शास फेर्न सक्दैन । मेरा हरेक सपना जब सम्म पुरा हुदैनन् तब सम्म मेरो भोकाएको गोजीले म माथि भरोसा र विश्वास गर्न सक्दैन , त्यसैले मेरो भोकाएको गोजीलाई विश्वास दिलाउनलाई म हरेक दिन लढेर पनि उठ्दै सङ्घर्ष गरिरहेको छु , किनकी सङ्घर्ष नै प्रगतिको गन्तव्यमा पुग्ने एक मात्र सिडि हो । यसरी एक दिन मेरो गोजी मलाई गाली गर्न छोड्न बाध्य हुने छ , किनकी त्यो दिन मेरो गोजीले टम्म हुने गरी खाना खानलाई आहारा पाएको हुने छ । सायद त्यो दिन चाडैनै आउने वाला छ किनकी मेरो गोजीलाई टम्म हुने गरी खाना खान समेते दिन नसकेको पापको गाँगर चाडैं नै भरिएर पोखिदै छ ।

                                                         


Comments